२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। त्यस्तै, घाइते हुनेमा ३ पुरुष र २ बालक रहेका छन्।
प्रारम्भिक जानकारीअनुसार बिहीबार बिहान करिब ६:१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। दुर्घटनाको समयमा गाडीमा करिब १५ जना सवार रहेको अनुमान गरिएको छ।
दुर्घटनालगत्तै घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले पनि उद्धार कार्य जारी राखेको छ।
घाइतेमध्ये तीन जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। अन्य घाइतेको उपचार तथा दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।